सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरोध गरिरहेका प्रतिपक्ष दलहरुलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गर्नुभएको छ । बुधवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । संसदको प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेरो गोरुको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको जिकिर गर्नुभयो । रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको उहाँको भनाइ छ ।