नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला–साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।