वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त हुँदा अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताउनु भयो । उहाँले वनभित्रै रमाउने गरी वन जन्तुको संरक्षण गर्न घाँसे मैदान र पानीको स्रोतको व्यवस्थापन जस्ता वासस्थानका सुधारका कार्यक्रमहरू राखिएको जिकिर गर्नुभयो । उहाँले वनको अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण तथा वन पैदावारको निकासी नियन्त्रण जस्ता वन संरक्षणका कार्यक्रमहरू प्रदेश सरकारको समन्वयमा कार्यान्वयन गरिँदै आएको बताउनुभयो ।