श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ–आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताउनुभएको छ । शुक्रवार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताउनुभएको हो । उहाँले पूरै गाउँ खालि रहेको र देश खालि भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताउनु भयो । विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको बताउनु भयो । मन्त्री भण्डारीले नेपालमा गाउँघर खाली के कारणले भए, के कारणले खाली भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।