राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली काँग्रेसले नियमापत्ति जनाएको छ । मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाउनुभएको हो । उहाँले संसद्मा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गर्नुभयो । उहाँले भोलिका दिनहरूमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनु भयो ।