नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । सोमवार काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । यस वर्ष पनि विगत झैँ ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित दिवस मनाइँदैछ । विभागले १८ गते शुरु भएको कार्यक्रम आगामी २४ गतेसम्म मनाउने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट २ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको बताउनु भयो ।