उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गर्नुभएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम गरिरहेको बताउनु भयो । उहाँले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताउनु भयो । बत्ती गएको ठाउँ सोधेर नेपालको उक्त ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको तर बत्ती गयो भन्दै दुःख दिने काम गरेको उहाँको भनाइ छ । यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गर्नुभयो । अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भनेर सूचना दिने गरेको समेत मन्त्री खड्काले बताउनु भयो । उत्पादनका कमीले लोडसेडिङ नभएको दाबी गर्दै कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएको उल्लेख गर्नुभयो ।