खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी सिंहदरबारमा औपचारिक वितरण शुरु गर्नुभएको छ । सोमवार सिंहदरबार परिसरमा आयोजित एक समारोहबीच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिनुभयो । मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरुमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गर्ने बताउनु भयो । खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उहाँको भनाइ थियो ।