युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रश्तुत गरेको बताउनुभएको छ ।
काठमाडौैंमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभुति गरिरहेको बताउनुभएको हो । उहाँले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताउनु भयो । सगरमाथा संवाद संसारको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित भएको उल्लेख गर्नुभएको छ । एभरेष्टका नामबाट विश्वमा परिचित सगरमाथा दृढताको एक प्रकाशस्तम्भ तथा मानव संघर्षको प्रतिकको रुपमा उभिएको उपाध्यक्ष स्टेनरले बताउनु भयो । नेपाल र हिमालहरु जलवायु संकटको अग्रपंक्तिमा रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभएको छ, ‘जलवायु परिवर्तनका कारण हिमनदी र नदीहरुसहितको यो अनुपम पारिस्थितिक प्रणाली दक्षिण एशियाका करिब २ अर्ब जनसंख्याका लागि जीवनरेखा हो । जसले जलस्रोत, खाद्य सुरक्षाः जीविकोपार्जन र अर्थतन्त्रलाई धानेको छ । यो जैविक विविधताको एक सुरक्षित आश्रयस्थल पनि हो । जसले थुप्रै दुर्लभ र लोपोन्मुख प्रजातीहरुलाई संरक्षण दिँदै आएको छ । तर यो अनुपम भू–दृश्य अहिले जलवायु परिवर्तनको कारण अस्तित्वको संकटसँग जुधिरहेको छ । हिन्दुकुश–हिमालय क्षेत्रमा रहेका हिमनदीहरु तिब्र दरमा पग्लिँदै गइरहेका छन् । यो क्षति अघिल्लो दशकको सन् १०११ देखि २०२० को बीचमा भएको तुलनामा ६५ प्रतिशत छिटो थियो । २०२४ देखि २०२५ को हिउँदमा ऐतिहासिक रुपमा न्युन हिमपात भयो । जसले करोडौं मानिसहरूको लागि आसन्न जल संकटको सङ्केत दिएको छ । यी नयाँ तथ्यांकहरु होइनन् । यी त ज्ञात जीवन शैलीमा जलवायु परिवर्तन र त्यसका विनाशकारी प्रभावाहरुबाट जोगिन तथा अनुकुल गर्न तत्काल कदम चाल्नुपर्ने आहानहरु हुन् । संयुक्त राष्ट्रसंघ परिवारको रुपामा, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले विश्वभर यस्ता चुनौतीहरुको सामना गर्न सहयोग गरिरहेको छ । एशिया र प्रशान्त क्षेत्रमा हामी जोखिमको पूर्वानुमान गर्न प्रारम्भिक चेतावनी प्रणालीहरु सुदृढ गर्दैछौं र प्राकृतिक विपत्तिहरु तथा झट्काहरुको सामना गर्नसक्ने क्षमता निर्माण गरिरहेका छौं । नेपालमा, हामी सरकार र जनतासँग काँध मिलाएर उभिएका छौं ताकी पर्वतीय समुदायलाई जलवायु परिवर्तनका बढ्दो जोखिमहरुबाट जोगाउन सकियोस् ।’
उहाँले युएनडीपी विश्वभरका १ सय ४० भन्दा बढी देशहरुसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभुति भएको उल्लेख गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल