सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा हालै गरिएको पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडित समुदायले आपत्ति जनाएका छन् । विभिन्न द्वन्द्वपीडित समुदायले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा हालै गरिएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशित र दलीय भागबन्डामा आधारित पदाधिकारीको छनौट तथा नियुक्ति गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सार्थक परामर्श, सहभागिता र प्रतिनिधित्वबिना लादिएको अपमानजनक प्रक्रिया द्वन्द्वपीडितका लागि अस्वीकार्य हुने उनीहरूले चेतावनी दिएका छन् ।