नेकपा (माओवादी केन्द्र)का प्रमुखत सचेतक हितराज पाण्डेले जनतालाई विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक पाण्डेले यस्तो बताउनुभएको हो । सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले उपलब्ध स्रोत र साधनको उपयोग गरेर औद्योगिक विकास गर्न नसकेसम्म अगाडि बढ्न नसकिने समेत उल्लेख गर्नुभयो । पाण्डेले अगामी आर्थिक वर्षको बजेटमा छिटो उत्पादन दिने र परिणाममुखी योजनाहरुलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो ।