सगरमाथा संवादः नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसर

जेठ १, २०८२ बिहीबार
सगरमाथा संवादः नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसर


प्रतिनिधि सभाका सांसदहरुले नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन न्युनिकरणका सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्न महत्वपूर्ण अवसर बन्ने विश्वास गरेका छन् ।


बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सरस्वती सुब्बाले सगरमाथा संवादले जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा बुझाइ बढाउन, जलवायुजन्य जोखिम न्युनिकरणका लागि साझा योजना निर्माण गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले मानव जीवनका दैनिक गतिविधिमा समेत नकारात्मक असर परिरहेको र मिचाहा प्रकृतिका विरुवा र जंगली जनावर कृषिका लागि चुनौति बन्दै गएको बताउनु भयो । त्यसैले जलवायु परिवर्तनको असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा देखिएका समस्या सगरमाथा संवादले सम्बोधन गर्नसक्ने सांसद सुब्बाको दावी थियो । 
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले यही जेठको २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना गरेको छ । यसले जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा बुझाइ बढाउन, जलवायुजन्य जोखिम न्युनिकरणका लागि साझा योजना निर्माण गर्न र जलवायु परिवर्तन न्यूनीकरणका सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गर्न महत्वपूर्ण अवसर बन्ने विश्वाससहित कार्यक्रम सफलताको कामना गर्दछु । जलवायु परिवर्तनका कारण तापक्रम बृद्धि भइरहेको र यसले हिउँ पग्लिनेदेखि हिमताल फुट्ने र समुद्री सतह बढेर डुवान कटानजस्ता जोखिम पनि बृद्धि हुने खतरा चर्चामा छ । यसबाट हरेक वर्ष खर्बौंको हाराहारीमा क्षति हुने गरेको छ । मानव जीवनका दैनिक गतिविधिहरुमा समेत नकारात्मक असर परिरहेको छ । मिचाहा प्रकृतिका विरुवा र जंगली जनावर कृषिका लागि ठूला चुनौति बन्दै गएका छन् । पानीको मूल सुक्न थालेका छन् । सुख्खापन बढेर मानिसको स्वास्थ्य, आनिवानी, खानपान, रोजगारी र उद्यमशीलतामा समेत असर परिरहेको छ । त्यसैले जलवायु परिवर्तनको असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम होस् ।’
नेकपा एमाले सचेतक सुनिता बरालले सगरमाथा संवादले आजको युगमा जलवायु संकटको मारमा परिरहेका साना, विकासोन्मुख र हिमाली राष्ट्रहरुको साझा आवाज बन्ने दृढ योजना बोकेको बताउनु भयो । उहाँले विगतका संवादहरुमा उठाइएका विषयलाई जीवन्त राख्दै यसपटक पनि जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्तित्व जस्ता महत्वपूर्ण विषयहरुमा संवाद केन्द्रित रहने जानकारीसमेत दिनुभयो । सगरमाथा संवाद ग्लोवल साउथको साझा एजेण्डा एकीकृत गर्न थप गति दिने बताउँदै उहाँले विचारशील र नैतिक शक्तिमार्फत विश्वमा प्रभाव छाड्न र सर्ट पावर कुटनीतिको उत्कृष्ट अभ्यास बन्नसक्ने दावी गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘भोलिबाट नेपाल सरकारले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेको छ । यस संवादले यस युगमा जलवायु संकटको मारमा परिरहेका साना, विकासोन्मुख र हिमाली राष्ट्रहरुको साझा आवाज बन्ने दृढ योजना बोकेको छ । नेपालले विगतका संवादहरुमा उठाएका विषयहरुलाई जीवन्त राख्दै यसपटक पनि जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्तित्व जस्ता महत्वपूर्ण विषयहरुलाई केन्द्रित गरेको देखिन्छ । यसले नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसर प्रदान गरेको छ । जलवायु परिवर्तन, आप्रवासन, जलसंकट र सामाजिक असमानताजस्ता विषयमा नेपालले साना राष्ट्रहरुको अग्रणी नेतृत्व लिने अवसरपनि छ । सगरमाथा संवादले ग्लोवल साउथको साझा एजेण्डा एकीकृत गर्न थप गति दिने छ । सगरमाथा संवाद विचारशील र नैतिक शक्तिमार्फत विश्वमा प्रभाव छाड्ने सर्ट पावर कुटनीतिको उत्कृष्ट अभ्यास बन्नसक्छ ।’
सरकारले आयोजना गरेको सगरमाथा संवादले नेपाललाई विचार विमर्श र समाधानको केन्द्रको रुपमा चिनाउने अवसरपनि प्रदान गरेको उहाँहरुको भनाइ थियो ।—न्युज एजेन्सी नेपालख

 

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images