नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भिर बन्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यका निकायहरुले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजु बढ्दै गइरहेको उहाँको भनाइ छ । सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौं भन्दै प्रश्न गर्नुभयो ।