नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवद्र्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गर्नुभएको छ । सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रुपमा विकास गर्न सक्षम भएको जिकिर गर्नुभयो । उहाँले नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइ अवधि छोटिएको बताउनु भयो । विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उहाँको भनाइ छ । उहाँले पर्यटकले गर्ने खर्च र बसाइ अवधि लम्ब्याउन ठूला पूर्वाधार निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताउनु भयो ।