सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपियु) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यो उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो । उहाँले अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताउनु भयो । उहाँले एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा नेपाल पुगेको दाबी गर्नुभयो ।