नेपाली काँग्रेस र नेकपा एमाले सांसदहरुले सहमति नजनाएपछि संसदीय समितिको बैठकमा प्रश्ताव पेश भएपनि तीनकुने घटनाबारे छानविन समिति गठन हुन सकेन । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानविन समिति गठन गर्न प्रश्ताव गर्नुभएको थियो । तर नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले सहमति नजनाएसँगै छानविन समिति बन्न नसकेको हो । समिति सभापति सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताउनु भयो । उहाँले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताउनु भयो । उहाँले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताउनु भयो । उहाँले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनुपर्ने बताउनु भयो ।