प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रको चारकिल्ला भित्र बसोवास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न चार समूह बनाएको छ । समितिले ढोरपाटन शिकार आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षअन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्ने समिति सभापति विमला सुवेदीले बताउनु भयो ।